काठमाडौं । गृह मन्त्रालयले बजार अनुगमन प्रभावकारी नभएको निष्कर्ष निकाल्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन तीव्र बनाउन निर्देशन दिएको छ। विशेषगरी होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र स्वच्छतासम्बन्धी गुनासो बढेपछि मन्त्रालयले कडा कदम चाल्न निर्देशन जारी गरेको हो।
मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितासम्बन्धी विशेष निर्देशन पठाएको जनाएको छ।
निर्देशनमा होटल तथा रेस्टुरेन्टमा खाद्य पदार्थको गुणस्तर र स्वच्छताको नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न, अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन तथा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुनअनुसार कडा कारबाही गर्न भनिएको छ।
मन्त्रालयले जिल्लास्तरको कार्यसम्पादनको प्रत्यक्ष अनुगमन गरिने उल्लेख गर्दै जिम्मेवारी निर्वाहमा कुनै प्रकारको लापरबाही वा उदासीनता नदेखाउन पनि सचेत गराएको छ। स्थानीय प्रशासनले बजारमा विधिको शासन कायम गर्न उच्च व्यावसायिकता प्रदर्शन गर्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
केही दिनअघि गृहमन्त्री सुधन गुरुङले चितवनको एक होटलमा अमलेट खाँदा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई तत्काल जरिवाना गर्न निर्देशन दिएका थिए। त्यस घटनापछि खाद्य स्वच्छता र बजार अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी स्वरूप मन्त्रालयले देशव्यापी निर्देशन जारी गरेको हो।




