काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको जनाएको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत उक्त निर्णय गरेको हो।
फिफाको निर्णयसँगै एन्फाले सदस्य राष्ट्रका रूपमा प्राप्त गर्ने अधिकारहरू गुमाएको छ। निलम्बन अवधिभर नेपाली राष्ट्रिय टोली तथा क्लबहरूले फिफा र एएफसी अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। साथै एन्फा तथा यससँग आबद्ध पदाधिकारीहरू फिफा र एएफसीका विकास कार्यक्रम, तालिम तथा प्राविधिक सहयोगबाट समेत वञ्चित हुनेछन्।
पछिल्लो समय एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवादका कारण नेपाली फुटबलमा संकट गहिरिँदै गएको थियो। यसअघि राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो भने फिफा र एएफसीले त्यसलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै आपत्ति जनाएका थिए। पछि सरकारद्वारा निलम्बन फुकुवा गरिए पनि अन्य विवादित निर्णय पूर्ण रूपमा फिर्ता नभएको भन्दै फिफा र एएफसीले नेपाललाई अन्तिम चेतावनी दिएका थिए।
फिफाले एन्फाको स्वायत्तता सुनिश्चित हुनुपर्ने र फुटबल प्रशासनमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट गरेको छ। चेतावनीअनुसार आवश्यक सुधार र स्पष्टता नआएपछि निलम्बनको निर्णय गरिएको बताइएको छ। यो निर्णयले नेपाली फुटबलमा गम्भीर असर पार्ने भएको छ। राष्ट्रिय टोलीका आगामी अन्तर्राष्ट्रिय खेलहरू, क्लबस्तरीय प्रतियोगिताहरू तथा फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोग प्रभावित हुनेछन्। साथै नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थिति र विकास कार्यक्रमहरू समेत अनिश्चित बनेका छन्।
फिफाले अर्को काउन्सिल बैठकअघि वा आवश्यक सुधार तथा सहमति भएपछि जुनसुकै समयमा निलम्बन फुकुवा गर्न सकिने संकेत पनि दिएको छ।





