चितवन– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ। भरतपुरस्थित गेस्टहाउस चौर मा आयोजित विशेष समारोहबीच महाधिवेशनको उद्घाटन बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछाने ले संयुक्त रूपमा पार्टीको निर्वाचन चिह्न ‘घण्टी’ बजाएर गर्नुभएको हो।
उद्घाटन समारोहमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रदीपकुमार ज्ञवाली, वर्षमान पुन, राजेन्द्र लिङ्देन तथा उपेन्द्र यादव लगायतका नेताहरूले सहभागी भई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको जनाएको छ। यद्यपि हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी भने महाधिवेशनमा सहभागी नभएको आयोजकले जानकारी दिएको छ।
रास्वपाको पहिलो महाधिवेशनबाट पार्टीको नयाँ नीति, भावी मार्गचित्र तथा आगामी नेतृत्व चयन हुने अपेक्षा गरिएको छ। महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण र भावी राजनीतिक दिशानिर्देशनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।





