काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा शनिबार बसेको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव, पाँच सचिवले आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आज महासचिवदेखि, तीन जना उपमहासचिव, पाँच जना सचिव बोल्नुभयो । आफूलाई लागेका विषयवस्तु बोल्नुभयो । हिजोदेखि आजसम्मका आफूलाई लागेका अनुभूति, अनुभवहरु त्यहाँ राख्नुभएको छ ।” भोलि बाँकी चार जना सचिवले धारणा राख्नुहुनेछ ।
पदाधिकारीले धारणा राख्ने क्रममा नेतृत्वको कमीकमजोरी एवम् समिक्षा लगायत आ–आफ्ना अनुभूति समेत राख्नुभएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने कसैले भनेकै छैन । नेतृत्वको कमीकमजोरी थियो भन्ने कुरा पनि भएको छ । आफ्ना अनुभूतिहरु राख्ने कुरा हुन्छन् ।”
बैठकमा पदाधिकारीको वरियता निर्धारण, सरकारका काम र क्रियाकलाप, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यको कार्यविभाजन, संविधान संशोधन सुझाव कार्यदल, निर्वाचनको समीक्षा प्रतिवेदन कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, सङ्गठन विभागको काम र विविध गरी ११ वटा एजेण्डा प्रस्तुत भएका छन् ।
जेठ ४ गते सोमबारदेखि सुरु एमाले सचिवालय बैठक गुण्डुमा निरन्तर बसिरहेको छ । गोरखापत्र






