सुदूरपश्चिमका विभिन्न नाकाबाट एक सातामा झण्डै बीस हजार नेपाली स्वदेश फर्किए

कैलाली – सुदूरपश्चिमका विभिन्न नाकाबाट एक साता यता झण्डै बीस हजार नेपाली फिर्ता भएका छन् ।

कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला अधिकारीहरूले बताएका छन् । कैलालीको गौरीफन्टा नाका हुँदै सात दिनमा १३ हजार बढी नागरिक नेपाल भित्रिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस्तै कञ्चनपुरको दोधारा र ब्रहमदेव नाकाबाट करिब ५ हजार जना आएको कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । आज पनि २ हजारलाई ल्याइएको छ । यस्तै दार्चुलाको धारचुला नाका हुँदै जेठ ८ गते तीन सय १९ जनालाई स्वदेश ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले सिमामा कसैको पनि कोरोना परिक्षण नगरिएको जानकारी दिए ।

‘उनले भने सीमा नाकामा आरडिटी वा पिसिआर कुनै पनि परिक्षण गर्ने मापदण्ड छैन,’ उनले भने, ‘भित्रिएका सबैलाई स्थानीय तहमा १४ दिन क्वारेन्टिन बस्नेगरी पठाइन्छ । उनका अनुसार, क्वारेन्टिन अवधि पुरा भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण हुने र परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइने छ । सीमा नाकामा यात्रुको सामान्य परीक्षण मात्र गर्ने गरिएको छ । त्यसबाहेक ज्वरो आएको वा कोरोनाको जस्तो लक्षण छ, छैन भन्ने बारे सोधपुछ मात्रै गर्ने गरिएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा पाँच सय १४ स्थानमा गरी १४ हजार ४४ बेड क्वारेन्टिन छन् । जसमा आजसम्म आठ हजार ५४ जना बसेको रेकर्ड प्रदेश सरकारसँग छ । प्रदेश सरकारले प्रदेशभरी चौबीस हजार क्वारेन्टिन थप्नुपर्ने भन्दै स्थानीय तहहरूलाई निर्देशन दिएको कार्कीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्