काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का चार उपाध्यक्षले पार्टीको नीति तथा नेतृत्व पुनर्गठन गर्नुपर्ने माग गरेका छन् । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले फागुन २१ को चुनावी परिणामले पार्टीभित्र नीति र नेतृत्व पुनर्गठनको आवश्यकता देखाएको बताएका हुन् ।
बैठकमा अर्का उपाध्यक्ष रामबहादुर थापाले भने वर्तमान नेतृत्वकै आधारमा पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अध्यक्ष ओली आक्रोशित बनेको नेताहरूले बताएका छन् । पार्टी आन्दोलन र नेतृत्व सङ्कटमा रहेको बेला पुनर्गठनको बहस उठाइएको भन्दै ओलीले असन्तुष्टि जनाउँदै अनुशासनको कारबाहीसम्मको चेतावनी दिएको स्रोतहरूको भनाइ छ ।
ओलीको अभिव्यक्तिपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिवाद गर्दै “एमाले निजी कम्पनी नभएको” टिप्पणी गरेको नेताहरूले बताएका छन् । पार्टीभित्र अध्यक्ष ओली निकट मानिएका नेताहरूबाटै नेतृत्व पुनर्गठनको आवाज उठ्न थालेपछि एमालेभित्रको आन्तरिक विवाद थप चर्किएको देखिएको छ ।






