काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ः३० बजे बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो ।
सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको कार्यविभाजन प्रस्तावलाई आजको बैठकले अन्तिम रूप दिने तयारी गरिएको छ । प्रस्तावमा आवश्यक हेरफेर भए छलफलमार्फत टुंग्याएर अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै नेताहरूलाई जिम्मेवारी पठाइने एमालेले जनाएको छ ।
गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न एमालेको ११ औं महाधिवेशनपछि नेताहरूलाई अस्थायी जिम्मेवारी दिइएको थियो । फागुन २१ गतेको निर्वाचनलाई केन्द्रमा राखेर केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी तोकिएको थियो ।
यसपटकको प्रस्तावित कार्यविभाजनमा सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसंगठन तथा डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी गरिएको छ । उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभिन्न विभागको समन्वय र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
अध्यक्ष ओलीको प्रस्तावअनुसार अधिकांश केन्द्रीय सदस्यलाई ‘मिसन स्थानीय चुनाव’ अन्तर्गत निर्वाचन केन्द्रित जिम्मेवारी दिने तयारी गरिएको छ ।
यस्तै आजको बैठकमा पार्टी पुनर्गठन र नेतृत्वको विषयमा समेत खुला छलफल हुने नेताहरूले बताएका छन् । सोमबारको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खुला गर्ने निर्णय गरेको थियो ।
एमालेभित्र पछिल्लो समय नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनबारे बहस तीव्र बन्दै गएको छ । केही नेताहरूले अध्यक्ष ओलीबाट अब पार्टी आन्दोलन प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको दाबी गरेका छन् ।







