काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी जारी शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा जित हात पारेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डिएलएस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा अमेरिकालाई पनि सोही नियमका आधारमा दुई रनले हराएको थियो ।
यस्तै, गत शनिबार भएको खेलमा नेपालले अमेरिकामाथि नौ विकेटको शानदार जित निकालेको थियो । आजको खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ । नेपाल स्कटल्याण्डलाई हराउँदै विश्वकपको ग्लोबल छनोट चरणमा पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ । हाल अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले २६ खेलमध्ये ९ खेलमा जित, १५ खेलमा हार तथा दुई खेल बराबरी खेल्दै २० अङ्क जोडेको छ ।
नेपालले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन अब बाँकी सबै १० खेल जित्नुपर्ने अवस्था छ । साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनुपर्ने दबाब पनि नेपालमाथि रहेको छ । यता स्कटल्याण्ड भने ३० खेलबाट १६ जित, ८ हार र ६ खेल बराबरी खेल्दै ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।





