धरौटीमा छुट्न आदेश पाएपछि पनि व्यवसायी शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं – शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः पक्राउ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलश्रीकान्त पौडेलको इजलासले सोमबार धरौटीमा छाड्न आदेश दिए पनि उनी राति पुनः नियन्त्रणमा लिइएका हुन्। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार गोल्छाविरुद्ध दुई फरक मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई नियन्त्रणमै राखिएको हो। “धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको कसुरमा आदेश आएको भए पनि अर्को छुट्टै मुद्दामा अनुसन्धान भइरहेको थियो,” उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई यसअघि वैशाख १० गते काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको थियो।

गोल्छाको पक्राउविरुद्ध उनकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले धितोपत्र ऐनअनुसार आवश्यक धरौटी वा जमानत नलिई हिरासतमा राखिएको भन्दै अघिल्ला आदेश बदर गरेको थियो। तर बिमा ऐन, २०७९ अन्तर्गतको छुट्टै कसुरमा अनुसन्धान भइरहेको भन्दै प्रहरी पुनः उनलाई पक्राउ गर्न पुगेको हो। प्रहरीले उनलाई हिरासतमा राख्न यसअघि नै चार पटकसम्म अदालतबाट अनुमति लिइसकेको जनाएको छ।

विवादास्पद सेयर कारोबार प्रकरणमा दीपक भट्टसुलभ अग्रवाल सहितको समूहसँग मिलेमतो भएको आशंकामा तयार पारिएको प्रतिवेदनमा गोल्छालाई पनि संलग्न व्यक्तिका रूपमा उल्लेख गरिएको थियो। सोही प्रतिवेदन कार्यान्वयनका लागि सरकारमार्फत सीआईबीलाई जिम्मा दिइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्