काठमाडौं – काठमाण्डौ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भइसकेको र छिट्टै सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो।
सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ कम्पनी युसिन-एआरटी जेभीलाई ५ वर्षको ठेक्का दिइएको छ। प्रारम्भमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको जनाइएको छ।
झण्डै २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा करिब १६ अर्ब निर्माण र ६ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च भएको छ। हालसम्म वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ।
२ दशमलव ६८८ किलोमिटर लामो सुरुङमार्गमा दुई छुट्टाछुट्टै सुरुङ निर्माण गरिएका छन्—एक सवारी आवागमनका लागि र अर्को आपत्कालीन उद्धारका लागि। दुवै सुरुङ प्रत्येक ३७५ मिटरमा आपसमा जोडिएका छन्। मुख्य सुरुङ ११ मिटर चौडा रहेको छ, जसमा दुई लेन र बीचमा करिब डेढ मिटरको दूरी छुट्याइएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि वार्षिक करिब ३५ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। साथै, यसले काठमाण्डौ उपत्यकामा प्रवेश गर्ने सवारी साधनको जाम घटाउने र यात्रा समय छोट्याउने अपेक्षा गरिएको छ।






