इन्डियन प्रिमियर लिग क्रिकेटमा पञ्जाब किङ्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । दिल्लीमा भएको खेलमा दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीले यसअघि बनाएको २५७ रनको कीर्तिमान तोडे पनि जित हात पार्न सकेन । पञ्जाबले पनि आफ्नै उच्च स्कोरको कीर्तिमान तोड्दै उत्कृष्ट प्रदर्शन गरेको छ । आईपीएल इतिहासमा सबैभन्दा उच्च स्कोर भने सनराइजर्स हैदरावादको नाममा रहेको छ, जसले २८७ रन बनाएको थियो ।
हिजोको खेलमा दिल्लीका केएल राहुलले १५२ र नितिश रानाले ९१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । केएल राहुलको यो इनिङ प्रतियोगिताकै तेस्रो उच्च व्यक्तिगत स्कोर हो । सबैभन्दा उच्च स्कोर क्रिस गेलको १७५ रन र दोस्रो स्थानमा ब्रेन्डन म्याक्कुलमको १५८ रन रहेको छ । पञ्जाबको जितमा प्रभसिम्रन सिंहले ७६, प्रियान्श आर्याले ४३ र कप्तान श्रेयस अय्यरले अविजित ७१ रन बनाए । यस जीतसँगै पञ्जाब तालिकामा बलियो स्थितिमा पुगेको छ ।
अर्को खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेटले हरायो । राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा पूरा गर्यो । हैदरावादको जितमा अभिषेक शर्माले ५७ र ईशान किशनले ७४ रन बनाए । राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।
आज पनि प्रतियोगितामा दुई खेल हुँदैछन् । पहिलो खेलमा चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ ।






