देशभर मौसम बदली, पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

सांकेतिक तस्बिर

काठमाडौँ – आज र भोलि देशका सबै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान काठमाडौँ उपत्यकामा छिटपुट वर्षा भएको छ भने मौसम बदली रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

गएराति कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशलुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । लमजुङको फलेनीमा सबैभन्दा धेरै ८२.६ मिलिमिटर वर्षा मापन भएको छ भने प्युठानको फोप्लीमा ६१.६ मिलिमिटर वर्षा भएको छ । काभ्रेको पनौती–खोपासी क्षेत्रमा ६४.२ मिलिमिटर र रुकुमकोटमा ६८.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने तल्लो वायुमण्डलमा पूर्वी वायुको समेत प्रभाव देखिएको छ । यसै कारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज पनि तराई क्षेत्रमा गर्मी कायम रहनेछ । तर मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षा बढ्न सक्ने भएकाले केही राहत मिल्ने अपेक्षा गरिएको छ । प्रि–मनसुनको समयमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको सम्भावना रहने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्