काठमाडौँ – वर्षापछि रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग हिजोदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सवारी आवागमन तत्कालका लागि बन्द गरिएको छ । काभ्रे खण्डका विभिन्न स्थानमा परेको वर्षापछि खोलामा बाढी आएर अस्थायी डाइभर्सन बगाएको हो ।
बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुङ्गा, माम्ती र सिन्धुलीको आँपघारी क्षेत्रमा रहेका डाइभर्सनमा क्षति पुर्याएको छ । ती क्षेत्रहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ र खुलाउने प्रयास भइरहेको छ ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरी आवागमन सञ्चालन हुँदै आएको थियो । हाल राजमार्गका प्रवेश बिन्दु धुलिखेलको काभ्रे भञ्ज्याङ र नेपालथोकमा सवारीसाधन रोकेर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार मौसममा सुधार र डाइभर्सन मर्मतपछि मात्र सवारी सञ्चालन गरिनेछ ।







