काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशभर गर्मी बढ्ने जनाएको छ। महाशाखाका अनुसार आज र भोलि मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा तापक्रम थप बढ्नेछ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
पछिल्ला दिनहरूमा तराईमधेशसहित देशका धेरै ठाउँमा तापक्रम उच्च हुँदै गएको छ। कपिलवस्तु, भैरहवा र बाँकेलगायत क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित बनेको छ भने बिहानै घाम चर्किन थालेपछि बजार तथा ग्रामीण क्षेत्र सुनसान हुन थालेका छन्। दैनिक ज्यालादारी गर्ने मजदुरहरू समेत प्रभावित भएका छन्। यता, केही स्थानमा बेलुकीपख हल्का वर्षा भए पनि अधिकांश क्षेत्रमा गर्मी कायम रहेको छ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।






