नेपाल व्यापार संघले वैशाख ११ गते वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने

काठमाडौं – “रक्तदान जीवनदान, रक्तदान महादान” भन्ने नारासहित नेपाल व्यापार संघले वैशाख ११ गते भव्य रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहलमा २१ औँ लोकतन्त्र दिवसको अवसर पारेर उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम वैशाख ११ गते काठमाडौँको महाबौद्धस्थित गणेश मन्दिर परिसरमा सञ्चालन हुने जनाइएको छ।

कार्यक्रमका संयोजक तथा नेपाल व्यापार संघका उपाध्यक्ष किशोर कुमार गौतमले रक्तदान जस्तो मानवसेवामूलक कार्यमा सबैलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्। उनले भने, “रक्त अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। सबै व्यवसायी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आह्वान गर्दछु।”

त्यसैगरी संघका अध्यक्ष गिरिराज पोखरेलले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई विशेष महत्व दिइएको बताए। उनले भने, “व्यवसाय मात्र होइन, समाजप्रतिको दायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले हामीले लोकतन्त्र दिवसको अवसरमा यस्तो पुण्य कार्यमार्फत समाजमा सकारात्मक सन्देश दिन खोजेका हौं।”

कार्यक्रममा प्राविधिक सहयोग T.U. Lions Blood Transfusion and Research Centre ले गर्ने जनाइएको छ। आयोजकले कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण व्यवसायी, युवा तथा आम नागरिकलाई सहभागी हुन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्