काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधित्व नभएका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्न नसकेका क्षेत्रमा केन्द्रित भएर समानुपातिक सांसदहरूलाई जिम्मेवारी बाँडफाँट गरिएको हो।
रास्वपाले जिम्मेवारीसहित सांसदहरूको नाम, क्षेत्र र सम्पर्क विवरण सार्वजनिक गरेको जनाएको छ। सूचीअनुसार कोशी प्रदेशका पाँचथर, भोजपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, मधेश प्रदेशका धनुषा, रौतहटलगायत जिल्लामा समानुपातिक सांसद परिचालन गरिएको छ।
यस्तै बागमती प्रदेशका सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका म्याग्दी, मुस्ताङ, मनाङ, लुम्बिनी प्रदेशका कपिलवस्तु, पाल्पा, बाँके, कर्णाली प्रदेशका जुम्ला, डोल्पा, हुम्ला, मुगु, कालीकोट तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ, डोटी, अछामलगायत जिल्लामा पनि जिम्मेवारी तोकिएको छ।
जिम्मेवारी पाएका सांसदहरूले नागरिकका गुनासा, सुझाव तथा स्थानीय समस्याहरू प्रत्यक्ष रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ। पार्टीका अनुसार यस अभ्यासले जनप्रतिनिधिको पारदर्शिता बढाउनुका साथै उनीहरूलाई थप जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।






