भारतबाट दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिदै

काठमाडौँ – भारतमा कोरोना भाइरसको ङ्क्रमण निरन्तर बढिरहेको छ । भारतले लकडाउनका बीच पनि रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको संख्या दिन प्रतिदिन बढिरेहेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयाँै रहेको छ ।

बेलहिया नाका हुदै १२ सय नेपाली स्वदेश भित्रिएका छन् । भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा विताएका उनीहरु दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।

भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार एक हजार १८५ जना नेपालीलाई रुपन्देही भित्र्याइएको बताए । “रूपन्देहीकै पालिकाका क्वारेन्टाइनमा ४३० जना बसेका छन् बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर गएका छन्”, उनले भने ।

भारतले बन्दाबन्दीकै बीचमा रेल सेवा सुरु गरेपछि भारतका विभिन्न राज्यबाट बेलहिया नाका हँुदै घर फर्कन दैनिक सात आठ सय नेपाली सुनौली नाकामा आउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । जेठयता मात्रै बेलहिया नाकाबाट दुई हजार पाँच सय नेपाली भित्रिएको प्रजिअ पन्थले बताए । त्यसबाहेक लुकिछिपी भित्रनेको सङ्ख्या पनि ठूलो रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

नेपालगन्जस्थित नेपाल–भारत सीमानाकाबाट शनिबार मात्र एक हजार नौ सय नेपाली स्वदेश भित्रिएका छन् । शुक्रबार त्यस नाकाबाट स्वदेश भित्रने नेपाली एक हजार नौ सय रहेको जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख माधव रिजालले बताए ।

प्रदेश २ का विभिन्न सीमानाकाबाट शनिबार ४९६ जना नेपाली स्वदेश भित्रिएका छन् । जेठ महिनामा प्रदेश २ मा चार हजार २३० नेपाली भारतबाट स्वदेश भित्रिएका र उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराम सापकोटाले बताए ।

भारतका विभिन्न सहरबाट आएर सीमा क्षेत्रमा रोकिएका दुई हजार ११ जना नेपालीलाई शनिबार नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भारतको राजधानी दिल्ली, मुम्बई, पुणे लगायतका सहरबाट आएका नेपालीलाई सीमावर्ती बजार गौरीफन्टाबाट नेपाल ल्याइएको हो ।

सूचना अधिकारी जोशीका अनुसार भारतबाट आएकालाई सम्बन्धित पालिकाको एकान्तबासमा बसाउने गरेर पठाइएको छ । शनिबार भारतको गौरीफन्टाबाट स्वदेश भित्रिनेमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला तथा कर्णाली र प्रदेश ५ का नागरिक छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार कञ्चनपुरको दोधारा हुँदै तीन सयभन्दा बढी नेपाली भारतबाट आएका छन् । उनीहरूलाई प्रदेश सरकार र स्थानीय तहले बस लगायतका सवारी साधनबाट सम्बन्धित पालिकाको एकान्तबासमा राख्ने गरी लगिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्