गण्डकी प्रदेशको बर्खे अधिवेशनको तयारी पूरा

कास्की – गण्डकी प्रदेशसभाको आइतबारका लागि आह्वान गरिएको बर्खे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोेभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी पोखरा सभागृहमा अधिवेशन हुन लागेको हो ।

यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो । हालको प्रदेशसभा भवन साँघुरो भएका कारणले आवश्यक सामाजिक दूरी कायम गर्न नसकिने भएपछि सरकारले पहिलो पटक सभागृहमा सदनको छैटौँ अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो । प्रदेशसभामा ६० सदस्य छन् ।

आइतबार दिनको १ः०० बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वानका लागि संसद् सचिवालयमा पठाउनुभएको पत्रका बारेमा सभामुख नेत्रनाथ अधिकारीले सदनलाई जानकारी गराउनुहुने कार्यसूची छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकअनुसार सदनमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय समाजवादी जनता पार्टीका संसदीय दलका नेताले समसामयिक विषयका साथै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुहुने सभामुख अधिकारीले जानकारी दिए ।

उनका अनुसार संसद् सचिवालयमा दर्ता भएर प्रक्रिया पुगेको एक विधेयकसमेत बैठकमा टेबल गर्ने तयारी छ । पछिल्लोपटक गत चैत ६ गते बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगन भएको थियो ।

त्यसपछि कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारण अर्को बैठक बस्न नपाउँदै सदनको हिउँदे अधिवेशन अन्त्य भएको थियो । गत वैशाख २३ गते मन्त्रिपरिषद्ले सदनको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । अधिवेशन सञ्चालनका लागि सभागृहमा आवश्यक सम्पूर्ण तयारीका काम सम्पन्न भएका प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकका लागि मुख्य सभाहलमा सभामुख कक्ष, सभामुख ड्यास र हलमा ४०० नयाँ कुर्सी जडान गरिसकिएको छ । अधिवेशनका लागि सदनका विभिन्न समितिका कार्यकक्षसमेत तयारी अवस्थामा छन् ।

सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी डेढ मिटरको सामाजिक दूरी कायम गरेर प्रदेशसभा सदस्यको नामसहितको सिट व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए ।

पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको पुरानो र जीर्ण सभागृह प्रदेशसभा बैठक बस्ने भएपछि अहिले आवश्यक मर्मतसहित मुख्य सभाकक्षलगायतका भवनको रङ्गरोगन गरेर चिटिक्क पारिएको छ । हलमा कार्पे्टिङ तथा साउण्ड सिस्टम जडान गरिसकिएको छ । अधिवेशन आह्वानलगत्तै सभागृहमा सुरक्षाकर्मी परिचालन गरी विभिन्न छ स्थानमा सुरक्षा कक्ष स्थापना गरिएको छ । सरकारले करिब रु २५ लाख लागतमा सभागृहको मर्मत सम्भार गरेको हो ।

उपसभामुख सिर्जना शर्माले कोभिड–१९ को पिसिआर परीक्षण रिपोर्टका आधारमा मात्र अधिवेशन हलमा प्रवेशको व्यवस्था गरिएको बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सभागृहको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले बाँकी रहेका केही कामलाई समेत तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिए । “हालको विषम् अवस्थाका कारणले सरकारले पहिलो पटक सभागृहमा सदनको कामकारवाही सञ्चालन गर्ने निर्णय गरेको हो”, मुख्यमन्त्री गुरुङले भने, “छोटो समयमा पनि तयारीका काम सकेर आवश्यक सुरक्षा सावधानीसहित सहज वातावरणमा अधिवेशन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।”

प्रदेश प्रमुख शेरचनले जेठ ५ गते प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको अधिवेशन पोखरा सभागृहमा आरम्भ हुने गरी आह्वान गर्नुभएको थियो । सदनको बर्खे अधिवेशन सरकारको नीति कार्यक्रम तथा बजेटका साथै महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि आवश्यक योजना निर्माणमा केन्द्रित हुनेछ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्