काठमाडौँ – कागेश्वरी मनोहरा-९, गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा सञ्चालन भएको विद्यालयस्तरीय १० औँ संस्करणको ‘अर्किड कप’ फुटबल प्रतियोगिताको उपाधि विद्यावाणी पाठशालाले जितेको छ। रोमाञ्चक फाइनल खेलमा विद्यावाणी पाठशाला र एकलव्य शिक्षा सदन भिडेका थिए । जसमा खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । निर्धारित समयमा पेनाल्टी सुटआउटमार्फत विद्यावाणीले ५–४ गोल अन्तरले पराजित गर्दै ट्रफी उचालेको हो। खेल अवधिभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।

उपविजेतामा भन्दै एकलव्य स्कुल हुन पुग्यो । यस्तै, विद्या विकास तेस्रो र निर्मल ज्योती चौथो स्थान हासिल गर्न सफल भए भने फेयर प्ले अवार्ड एजीएम स्कुलले हात पारेको आयोजकले जनाएको छ। प्रतियोगितामा कूल ४६ विद्यालयको सहभागिता रहेको थियो। फागुन १ गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो।

समापन समारोहमा विजेता टोलीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ, तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक प्रेमकुमार भुजेलले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले विद्यालयस्तरमै प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले भने, “अर्किड कप केवल प्रतिस्पर्धा मात्र होइन, विद्यार्थीहरूको क्षमता उजागर गर्ने महत्वपूर्ण मञ्च हो। आगामी दिनमा अझ व्यवस्थित र भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने हाम्रो लक्ष्य छ।” साथै उहाँले सहयोगी हातहरुप्रति समेत धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेल अवधिभर साथ दिने रेफ्री, सञ्चारमाध्यम, विभिन्न विद्यालयका प्रिन्सिपल, खेल प्रशिक्षक तथा प्रायोजकहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

समापन समारोहमा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९का अध्यक्ष अनिल थापाले अर्किड स्कुलले शिक्षासँगै खेलकुदलाई समान प्राथमिकतामा राखेर उदाहरणीय कार्य गरेको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न सहयोग गर्ने उल्लेख गर्दै स्थानीय तह सधैं शैक्षिक तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको धारणा राखे।
समापन समारोहमा बोल्दै नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले अर्किड स्कुलले विद्यालयस्तरमै गुणस्तरीय खेल प्रतियोगिता आयोजना गरेर अन्य विद्यालयका लागि सकारात्मक सन्देश दिएको बताए। उनले ‘अर्किड कप’ जस्ता प्रतियोगिताले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्दै भविष्यमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताए।




