खर्च अभावले अस्पतालबाट फर्काइएकी सुत्केरीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ६ पांठाका एक सुत्केरीको उद्धार गरिएको छ । एक हप्ता अघि सुत्केरी भई अचेत अवस्थामा रहेकी वर्ष ३२ कि गंगा कार्कीलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

गर्भवती कार्की घरमै विरामी भएपछि एक हप्ता अघि खाँदबारी अस्पताल ल्याईएको थियो । अस्पतालमा ल्याउँदा कार्की अचेत अवस्थामा रहेकोले आईसियुमा राखेर उपचार गराउनुपर्ने भएपछि जिल्ला अस्पताल खाँदबारीले बिराटनगर पठाएको थियो । विराटनगरको नोबेल अस्पतालमा मृत्यु भईसकेको बच्चा निकालिएपछि कार्कीलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचार खर्च नभएपछि परिवारले घर फर्काइएको उक्त सुत्केरीलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

खाँदबारी अस्पताल आउँदा कार्कीको उच्च रक्तचाप, पिसावमा संक्रमण लगायतका समस्या भएकोले बाहिर रेफर गर्नु परेको खाँदबारी अस्पतालका ब्यवस्थापक दिपेश श्रेष्ठले जानकारी दिए । ‘उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नु पथ्र्यो तर खाँदबारी अस्पतालमा त्यस्तो ब्यवस्था छैन’, श्रेष्ठले भने । खर्च अभावको कारण बिराटनगरको अस्पतालबाट फेरि जिल्ला अस्पताल फर्काएपछि हेलिकप्टरबाट उद्धार गरिएको श्रेष्ठको भनाइ छ ।

कार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट निःशुल्क काठमाडौं पठाइएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । यस कार्यक्रममा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क हवाई सेवा प्रदान गरिन्छ । गोरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्