गाविस सचिवले कति कमाउला ? ऋषिराम त्यस्ता गाविस सचिव हुन् जसले २६ करोड कमाए, ‘जहाँ सरुवा त्यही घडेरी

काठमाडौं – गाविस सचिवका रूपमा सेवा प्रवेश गरेर अधिकृतबाट अवकासप्राप्त सरकारी कर्मचारीले जागिरे अवधिमा कति आर्जन गर्न सक्लान् ? सीमित कमाइबाट आफ्नो र परिवारको आवश्यकता पूरा गरेर इमानका साथ कमाइएको पैसा बचत गर्न निकै कठिन नै छ ।

तर स्याङ्जाबाट गाविस सचिवमा जागिर सुरु गरेका एक व्यक्तिले आफ्नो जागिरे अवधिमा २६ करोड कमाई गरे । तर त्यसमध्ये १७ करोड ८३ लाख रुपैयाँ बराबर सम्पत्तिको भने स्रोत नै खुलेन । भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्ने व्यक्ति हुन टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल । आफ्नो जागिरे अवधिमा अर्यालले अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि मंगलबार उनीसहित उनका छोरा, श्रीमतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार, गैरकानुनी ढंगले आर्जित १७ करोड ८३ लाख ४१ हजार ५७९ रूपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

जहाँ सरुवा, त्यही घर घडेरी
अर्याल ०३९ साउन १ बाट सरकारी सेवामा प्रवेश गरेका थिए । सुरुमा उनको पोष्टिङ स्याङजामा भयो । त्यहाँ उनको सुरुवाती भूमिका गाविस सचिवको थियो । सरकारी सेवाको आखिरीमा उनी टोखा नगरपालिकाको कार्यकारी अधिकृत थिए । निजामती सेवामा ३६ वर्ष बिताएका उनी यहीँबाट अवकास भए । जागिरे कालखण्डमा उनले देशका विभिन्न भागमा काम गर्ने मौका पाए ।
राष्ट्र सेवा गर्ने कसम खाए पनि उनको ध्यान भने कसरी व्यक्तिगत सम्पत्ति आर्जन गर्ने भन्नेमै केन्द्रित रहेको अख्तियारको अनुसन्धानले देखाउँछ । अख्तियारका अनुसार, अर्यालले सरुवा भएर जहाँ पुग्यो, त्यही घर तथा घडेरी जोडेको पाइएको छ । यसरी घर र घडेरी जोड्न उनले आफ्नो शक्तिको भरपुर दुरूपयोग गरेको अख्तियारको भनाइ छ ।

श्रीमती र छोराहरुको नाममा सम्पत्ति खरिद
भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोप लागेका अर्यालले अधिकांश सम्पत्तिहरु आफ्नो श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशिल अर्याल र सुनिल अर्यालको नाममा राखिएको पाइएको छ । अर्यालले विभिन्न स्थानमा घरजग्गा, शेयर खरिद गरी श्रीमती र छोराहरुको नाममा राखेको पाइएको छ । त्यसैगरी अर्यालले कागज उदोगसमेत सञ्चालन गरेको पाइएको छ ।

आफ्नो पदीय दुरुपयोग गरी भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै पूर्व गाविस सचिव ऋषिराम अर्यालविरुद्ध अख्तियारले जेठ ७ गते विशेष अदालत काठमाडौंमा १७ करोड ८३ लाख रुपैयाँ बिगो र जरिवानाको माग गर्दै रीट दायर गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्