काठमाडौं — विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यले आइतबार बोलाइएको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक फेरि स्थगित भएको छ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूको बढुवा प्रणाली लगायतका विषयमा थप छलफल आवश्यक परेको भन्दै समय माग गरेपछि बैठक अघि बढ्न सकेन। समितिका सभापति अम्मर बहादुर थापाले सरकारको आग्रहमा बैठक स्थगन भएको बताए। उनले सरकारलाई पाँच दिनभित्र सहमति गरेर आउन आग्रह गरेका छन्, तर मन्त्री पन्तले समय तोक्न नमिल्ने बताएका छन्।
विधेयकमा शिक्षकको आन्तरिक प्रतिस्पर्धा, ६०/४० को विज्ञापन प्रणाली, र बढुवाका विषयमा अझै सहमति जुट्न बाँकी छ।