काठमाडौं – भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार सदस्यको हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती (१६ वर्ष) र सालो (१० वर्ष) लाई धारिलो हतियारले हत्या गरेका हुन्।
शनिबार राति सवा १ बजे राजेन्द्रले आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी ‘ममाथि चक्कु प्रहार भएकाले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुहोस्’ भनेका थिए। प्रहरी पुग्दा चारै जनाको शव फेला परेको थियो।
राजेन्द्रलाई करिब ५ किलोमिटर टाढा घाइते अवस्थामा फेला पारिएको र अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा उनले सासुले चक्कु प्रहार गरेपछि आफूले हत्या गरेको बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको छ।