कैलाली, असार १९ — सुदूरपश्चिम प्रदेश सरकारमा गठबन्धनका रुपमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारले आफ्नो मन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले संघ र प्रदेश दुवै सरकारबाट फिर्ता हुने जनाएको हो।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीको सल्लाहमा सरकारबाट बाहिरिने निर्णय लिएको जानकारी दिइन्। ‘संरक्षक ज्युको सल्लाहमा प्रदेश सभा र संघीय सरकारमा प्रतिपक्षमा बस्ने सहमति भएको छ’, उनले भनिन्।
संघीय सरकारमा रहेका नाउपाका प्रतिनिधि, राज्यमन्त्री अरुण चौधरीले शुक्रबार राजीनामा दिने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताइन्।
मन्त्री पदबाट बर्खास्त भएका रामेश्वर चौधरीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रतिपक्षमा बस्ने बताएका छन्। उनले केही दिनअघि मुख्यमन्त्री शाहलाई ‘सक्छौ भने बर्खास्त गरेर देखाऊ’ भनेर चुनौती दिएका थिए। आज चौधरीलाई बर्खास्त गरेपछि नाउपा थप रुष्ट बनेको हो।
पार्टीको सल्लाहबिना आफ्ना मन्त्रीलाई हटाइएको भन्दै संरक्षक रेशम चौधरीले सरकारबाट फिर्ता हुने तयारी गरिएको जनाएका छन्। यस घटनासँगै सुदूरपश्चिममा सत्ता समीकरण पुनः उल्टिने सम्भावना देखिएको छ।