काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) ले आज (बुधबार) पार्टीको ५३ औं सचिवालय बैठक बोलाएको छ। दिउँसो १ बजे ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनको तयारी मुख्य एजेन्डा रहनेछ।
पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशन, राजनीतिक तथा सांगठनिक प्रस्ताव, र विधान संशोधन सम्बन्धी प्रस्तावहरू तयार पार्नेबारे विस्तृत छलफल हुनेछ। गौतमले जानकारी दिएअनुसार, सचिवालय आफैंले प्रस्ताव तयार गर्ने वा समिति बनाएर त्यसको जिम्मेवारी दिने विकल्पमा छलफल हुनेछ।
संशोधन प्रस्ताव प्रदेश र जिल्ला कमिटीमा पठाउने तयारी
गत माघ ८ गते बसेको एमालेको ४२ औं सचिवालय बैठकले विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरेको थियो। विधानअनुसार, महाधिवेशन हुनुभन्दा एक महिना अगाडि नै संशोधन प्रस्ताव प्रदेश र जिल्ला कमिटीमा सुझावका लागि पठाइसक्नुपर्नेछ। यो विधान महाधिवेशनमा चितवनमा सम्पन्न दसौं महाधिवेशनका प्रतिनिधिहरू नै सहभागी हुनेछन्।
एमालेभित्र उमेरहद र कार्यकाल सीमाको बहस
बैठकमा बहसको अर्को केन्द्र ७० वर्षे उमेरहद कायम गर्ने कि हटाउने भन्ने रहेको छ। साथै, कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधानबारे पनि सुझाव र प्रस्तावहरू आइनसकेको नेताहरूले जनाएका छन्।
एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधान समेटिए पनि, पहिलो विधान महाधिवेशनपछि कार्यकाल सीमाको व्यवस्था हटाइएको थियो। ७० वर्षे उमेरहदको प्रावधान भने २०८० जेठमा एमाले फर्किएका नेता मुकुन्द न्यौपानेलगायतलाई जिम्मेवारी दिन स्थगित गरिएको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायत नेताहरू उमेरहद कायम गर्नुपर्ने पक्षमा देखिएका छन्।
राष्ट्रिय महाधिवेशनको तयारी पनि सुरु
एमालेले आउँदो फागुनभित्र ११ औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी समेत गरिरहेको नेताहरूले बताएका छन्। त्यसका लागि विधान संशोधन, सांगठनिक पुनःसंरचना र नीतिगत बहसलाई विधान महाधिवेशनमार्फत टुंगोमा पुर्याउने रणनीति एमालेले लिएको देखिन्छ। आजको बैठकले महाधिवेशनको रणनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्न सक्ने सम्भावना छ।