छाङरुमा १६५ जनाको फौज राख्ने सशस्त्रको तयारी, भवनको डिजाइन थालियो

काठमाडौं – कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६५ जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य थालिसकेको स्रोतले बतायो । स्रोतका अनुसार बिहीबारबाट सशस्त्र प्रहरीका इञ्जिनियरले दार्चुलाको छाङरुमा भवन निर्माणका लागि नाप, नक्साको कार्य सुरु गर्नेछन् ।

स्रोतले भन्यो, ‘अहिले १५ रोपनी जग्गा सशस्त्रको नाममा आइसकेको छ, ९ करोड रुपैयाँको लागतमा भवन बनाउँदैछ ।’ यसका लागि केही दिनमै बोलपत्र आह्वान गरिने जनाइएको छ ।

छाङरुमा रहेको बीओपीलाई गुल्ममा रुपान्तरण गरेपछि तिङ्करको कावामा थप बीओपी राख्ने गरी योजना बनाइएको स्रोतको भनाइ छ । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको थियो ।

भारतले मिचेको नेपाली भूमि कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने हुने गरेको थिएन । हाल भाडाको घरमा सशस्त्र प्रहरीको बीओपी राखिएको हो ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । अनलाइनखबरको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्