नेक्सस इन्टरनेशनल एकेडेमीमा विद्यार्थी निर्वाचन सम्पन्न, १४० जना उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ, पेप्सीकोला – लोकतान्त्रिक प्रणालीलाई व्यवहारमै उतार्दै पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले विद्यार्थी नेतृत्व चयनका लागि विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरेको छ। विद्यालयले क्याप्टेन तथा हाउस क्याप्टेन पदका लागि छात्रछात्रामार्फत मतदान गराएको हो।

यस वर्षको निर्वाचनमा जुनियर र सिनियर कोटाका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो। दुवै कोटामा गरी कूल १४० जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए भने करिब ८ सय विद्यार्थीले मतदानमा भाग लिएका थिए।

विद्यालय प्रशासनले दिएको जानकारीअनुसार मतगणना भने आइतबार गरिनेछ। विजयी उम्मेदवारहरूको घोषणा त्यसपछिमात्र सार्वजनिक गरिनेछ।

लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व विकास

विद्यालयले हरेक वर्ष विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रणाली र चुनावी प्रक्रिया सम्बन्धी व्यवहारिक ज्ञान दिन तथा उनीहरूमा नेतृत्व क्षमता विकास गर्न निर्वाचनको अभ्यास गराउँदै आएको छ। यस वर्ष पनि सोही अभ्यासलाई निरन्तरता दिइएको हो।

विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवालका अनुसार, यस्तो अभ्यास विद्यार्थीहरूको ज्ञान वृद्धिमा मात्रै होइन, उनीहरूलाई आगामी जीवनमा जिम्मेवार नागरिक बन्ने दिशामा समेत प्रेरित गर्छ।

‘चुनाव र यसको प्रणाली सिकाउने तथा लोकतान्त्रिक विधिबारे जानकारी दिलाउने यो नै एक महत्वपूर्ण अनुभवजन्य ज्ञान भएकाले हामीले हरेक वर्ष यसरी नै अभ्यास गराउने गरेका छौँ,’ प्राचार्य कटुवालले भन्नुभयो, ‘यसले विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धा र लोकतान्त्रिक पद्धतिबारे व्यावहारिक अनुभव दिलाउँछ। नेतृत्व, समावेशिता र सहिष्णुता जस्ता मूल्यमा आधारित सोच विकसित गर्न यो अभ्यास निकै उपयोगी देखिएको छ।’

शिक्षक, कर्मचारीको पनि सहभागिता

विद्यार्थी मात्र नभई विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरू पनि मतदान प्रक्रियामा सहभागी भएका थिए। प्राचार्य कटुवाल स्वयंले मतदान गरेर विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागिता जनाउने प्रेरणा दिएका थिए।

विद्यालयको वातावरण यस अवधिमा उत्सवमय देखिएको थियो। उम्मेदवारहरूले पोस्टर, नारा र प्रस्तुतिहरूमार्फत आफ्ना एजेन्डा सार्वजनिक गर्दै मतदाता विद्यार्थीहरूको समर्थन बटुल्ने प्रयास गरेका थिए।

नेक्सस इन्टरनेशनल एकेडेमीको यो अभ्यासले विद्यालय तहमै लोकतान्त्रिक संस्कार र राजनीतिक सचेतनाको बीजारोपण गर्ने काम गरेको देखिन्छ। विद्यार्थीहरूमा सानैदेखि नेतृत्‍व क्षमता विकास गर्न, जिम्मेवारी वहन गर्न र स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने माहोल सिर्जना गर्नु यसको मूल उद्देश्य रहेको विद्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्