काठमाडौँ – समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यले चन्द्रागिरी नगरपालिका–७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको आज औपचारिक शिलान्यास सम्पन्न गरिएको छ।
नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा एनप्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणा, स्यान कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महत, महांकाल ब्याडमिन्टन हलका अध्यक्ष श्रीहरि थापा, साथै समाजसेवी सूर्य अधिकारी, परशमणि दाहाल, कुमार भट्टराईलगायतको उपस्थिति थियो।
कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको संरचना, विशेषता र आगामी योजना सार्वजनिक गर्दै एसभीएएन स्कुल नेपाली शिक्षा प्रणालीमा नवीन दृष्टिकोणसहित परिवर्तन ल्याउने परियोजना भएको बताए।
उनका अनुसार विद्यालयको मुख्य भवन १० रोपनी क्षेत्रफलमा करिब ७४ हजार वर्गफिटमा निर्माण हुनेछ, भने पूरा स्कुल परियोजना ३०० रोपनीमा विस्तार हुनेछ। स्कुलमा अत्याधुनिक डिजिटल कक्षा कोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय, सिर्जनात्मक कला केन्द्र र खेल मैदानसमेत रहनेछ।
प्रारम्भिक चरणमा कक्षा १ देखि १० सम्मको पठनपाठन सञ्चालन गर्ने योजना छ। आगामी चरणमा ए-लेभल, इन्टरनेसनल ब्याकलरिएट (IB) तथा फिनिस पाठ्यक्रमजस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू समावेश गरी कक्षा ११ र १२ को अध्यापन गरिने योजना छ।
“हामी विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, जीवनोपयोगी सीप, नेतृत्व क्षमता र नवप्रवर्तनमा आधारित शिक्षाद्वारा सक्षम बनाउनेछौं,” शाहीले भने। विद्यालयको निर्माणमा करिब ३५ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ।
कार्यक्रममा सहभागी अतिथिहरूले एसभीएएन स्कुलले नेपाली शिक्षा प्रणालीमा नवीनतम उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे। स्थानीय अभिभावक, शिक्षक, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयप्रतिको सकारात्मक र सशक्त समर्थन देखिएको थियो।
निर्देशक शाहीले एसभीएएन स्कुललाई केवल स्थानीय संस्थान नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य रहेको स्पष्ट पारे। “अभिभावकको लगानीको प्रतिफलस्वरूप गुणस्तरीय, सन्तुलित र व्यवहारिक शिक्षा प्रदान गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो,” उनले दोहोर्याए।