काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज (बुधवार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपालले सिरिजको दोस्रो खेलमा लगातार दोस्रो जितको लक्ष्य लिएको छ। सोमबार सम्पन्न पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै शृङ्खलामा विजयी सुरुआत गरेको थियो।
दोस्रो खेलमार्फत नेपाल लिग–२ मा आफ्नो प्रदर्शन सुदृढ बनाउन चाहन्छ।
नेदरल्यान्ड्सका लागि भने यो शृङ्खलाको उद्घाटन खेल हो। यसै खेलमार्फत उसले पनि सुखद सुरुआतको अपेक्षा राखेको छ। दुई टोलीबीच अहिलेसम्म भएका पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेदरल्यान्ड्सले तीन जित्दा नेपालले दुई खेलमा जित निकालेको छ।
विश्वकप लिग–२ मा हालसम्म २० खेल खेलेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ। उता नेपालले १३ खेलमा आठ अङ्क जोड्दै सातौँ स्थानमा रहेको छ। आठ टोली सहभागी यो लिग २०२७ मा आयोजना हुने आइसिसी विश्वकपको छनोट प्रक्रिया अन्तर्गत पर्दछ।
सन् २०२७ सम्म चल्ने लिगको अन्त्यमा शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा सिधा प्रवेश गर्नेछन् भने पुछारमा रहने चार टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ।
नेपालको तर्फबाट टीममा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल रहेका छन्।