काठमाडौं – १८ वर्षको प्रतिक्षा, असंख्य संघर्ष र अधुरा सपनाहरूलाई पछाडि पार्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले अन्ततः आफ्नो पहिलो आईपीएल उपाधि जितेको छ। मंगलबार अहमदाबादमा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै इतिहास रचेको हो।
जितको क्षणमा टोलीका प्राण–पुरुष विराट कोहली अत्यन्तै भावुक देखिए। खेलको अन्तिम बलपछि उनी घुँडा टेकेर मैदानमै टाउको झुकाएर रुँदै गरेको दृश्यले सम्पूर्ण क्रिकेटप्रेमीहरूलाई भावुक बनायो। “यो उपाधि टिमका लागि जति महत्त्वपूर्ण छ, त्यति नै हाम्रा समर्थकका लागि पनि हो,” कोहलीले खेलपछि भने। “मैले यो टिमलाई मेरो युवावस्था, उत्कर्ष र अनुभव दिएको छु।”
विराट कोहली एक मात्र यस्ता खेलाडी हुन् जसले आईपीएलका सम्पूर्ण १८ सिजन आरसीबीकै लागि खेलेका छन्। उनले भने, “१८ वर्षपछि यो उपाधि हात पार्नु असाधारण अनुभूति हो। मलाई कहिल्यै लागेन यो दिन पनि आउँछ। अन्तिम बलपछि म भावना थाम्न सकिनँ।” कोहलीले पछिल्लो १२ महिनामा तीन महत्वपूर्ण उपाधि जितेका छन्— २०२४ को टी–२० विश्वकप, २०२५ को च्याम्पियन्स ट्रफी, र हालको आईपीएल उपाधि। टी–२० विश्वकपपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् भने हालै टेस्ट क्रिकेटबाट पनि बिदा लिएका छन्।
कोहलीले यस सिजनमा आरसीबीका लागि ६५७ रन बनाउँदै आठ अर्धशतक पूरा गरे, जुन सबै खेल टोलीले जितेको थियो। “अब धेरै वर्ष खेल्न पाउँछु जस्तो लाग्दैन,” उनले भने। “जब मैले बुट थन्क्याउनेछु, म शान्त भएर भन्न सकूँ मैले सबै दिएँ।”
विराटले आरसीबी म्यानेजमेन्टलाई पनि धन्यवाद दिँदै भने, “धेरैले हाम्रो अक्सन रणनीतिलाई लिएर प्रश्न उठाए, तर हामी जान्थ्यौं हामीसँग के छ। यो जित त्यसको प्रमाण हो।”
कोहलीको भावना, समर्पण र निरन्तरताले केवल आरसीबीका समर्थकहरूलाई मात्र होइन, समग्र क्रिकेट विश्वलाई प्रेरणा दिएको छ। यस जितसँगै आरसीबीको इतिहासमा ‘धैर्यता, प्रतिबद्धता र दृढ विश्वास’ को सन्देश सुनौलो अक्षरमा कोरिएको छ।