१८ वर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक आईपीएल उपाधि जित्यो

 

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले १८ वर्ष लामो प्रतीक्षापछि पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। मंगलबार सम्पन्न फाइनल खेलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले ऐतिहासिक सफलता हात पारेको हो।

पहिले ब्याटिङ गर्दै बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। विराट कोहलीले सर्वाधिक ४३ रन, कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले समान २४-२४ रन जोडे। पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसनले समान ३-३ विकेट लिए। ओमरजाइ, वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए।

१९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किङ्सले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र १ चौका प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। उनी ३० बलमा अविजित ६१ रन बनाए। जोश इङ्लिसले ३९ रन जोडे। बेंगलुरुका बलरहरूमा भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिए भने हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए।

बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ मा तीनपटक फाइनल खेले पनि उपाधिबाट वञ्चित रहँदै आएको थियो। यसपटक भने टोलीले आफ्ना समर्थकको लामो प्रतीक्षा समाप्त गर्दै पहिलोपटक आईपीएल च्याम्पियन बन्ने गौरव हासिल गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्