आईपीएल २०२५ को उपाधिका लागि पञ्जाब र आरसीबी भिड्दै, हेड टु हेडमा बराबरी

काठमाडौं  – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधिका लागि आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)बीच फाइनल प्रतिस्पर्धा हुँदैछ। नरेन्द्र मोदी क्रिकेट रंगशालामा साँझ ७:४५ बजे सुरु हुने यस खेलमार्फत आईपीएलले नयाँ विजेता पाउने निश्चित भएको छ।

दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छन्। आरसीबीले पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पञ्जाबले भने दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै बेंगलुरुसँग पुनः भेट पक्का गरेको थियो।

आईपीएल २०२५ को लिग चरणमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। पञ्जाब र आरसीबी दुवैले १४ खेलमा समान १९ अंक जोडेका थिए। तर, उत्कृष्ट नेट रनरेटका आधारमा पञ्जाब लिगको शीर्ष स्थानमा रहँदा आरसीबी दोस्रो स्थानमा थियो।

हेड टु हेडमा बराबरी, पछिल्ला खेलमा आरसीबीको दबदबा

दुवै टोलीबीच अहिलेसम्म ३६ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये दुवैले १८–१८ खेल जितेका छन्, जसले दुवै टिमबीचको प्रतिस्पर्धा कति कडा रहेको स्पष्ट गर्छ। यद्यपि पछिल्ला ६ खेलमध्ये ५ मा आरसीबी विजयी भएको छ भने पञ्जाबले १ मात्र जित हात पारेको छ।

यस सिजन आरसीबी र पञ्जाबबीच लिग चरण र प्लेअफमा गरेर तीनपटक भिडन्त भएको छ। तीमध्ये आरसीबीले दुई खेल जितेको छ भने पञ्जाबले एक जित निकालेको छ। आजको फाइनलमा दुवै टिमको बलियो पक्ष, रणनीति र मनोबल निर्णायक हुने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमीहरू आईपीएलको नयाँ विजेता को बन्ला भन्ने कौतूहलमा छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्