काठमाडौँमा आज भोटो जात्रा : रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

FILE PHOTO

काठमाडौँ – वर्षा र समृद्धिका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज जावलाखेलमा विशेष विधिपूर्वक मनाइँदैछ। यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

ललितपुरको जावलाखेलमा आयोजना हुने भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म ‘जावलाखेल जात्रा’ भनिन्थ्यो। ‘जा’ (भात) र ‘वला’ (छर्ने) शब्द मिलेर बनेको ‘जावलाखेल’ नाम यसै जात्रासँग सम्बन्धित भएको बताइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्तिमदन जोशीका अनुसार, भोटो जात्रा सुरु भएको यकिन मिति अहिलेसम्म अज्ञात भए पनि रातो मच्छेन्द्रनाथको यात्रा करिब १३०० वर्ष पुरानो भएको जनविश्वास छ।

किंवदन्तीको कथा

भोटो जात्राको उत्पत्तिसँग सम्बन्धित किंवदन्तीअनुसार, नागराज कर्कोटककी रानीको आँखामा गम्भीर समस्या आएपछि वैद्य खोज्ने क्रममा एक किसानलाई गल्तीले नागलोक टौदह लगिएको थियो। डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी मयल (हातको मैलो) औषधिका रूपमा प्रयोग गरेपछि रानी निको भइन्।

कर्कोटकले धन्यवादस्वरूप मणि-माणिक्य जडित भोटो किसानलाई पुरस्कारस्वरूप दिए। किसानले उक्त भोटो खेतमा काम गर्दा डिलमा राखेका थिए, तर एक दिन मानव रूपी भूतले भोटो लगेर गयो। पछि, मच्छेन्द्रनाथको जात्रामा उक्त भूतले त्यो भोटो लगाएको देखेपछि किसानले दाबी गरे। तर प्रमाण नहुँदा भोटो मच्छेन्द्रनाथकै जिम्मा लगाउने निर्णय गरियो।

त्यहीबेला देखिनै रथयात्रा सकिएपछि साइत हेरेर भोटो देखाउने परम्परा सुरु भएको विश्वास गरिन्छ। अहिलेसम्म कसैले प्रमाणसहित आएर भोटो लैजान नसकेको जनविश्वास छ।

परम्परा र राष्ट्रसञ्चालनको प्रतीक

पछिल्ला वर्षहरूमा गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने परम्परा सञ्चालन गर्दै आएका छन्। यस जात्राले सांस्कृतिक सम्पदा संरक्षण, परम्पराको निरन्तरता र सहिष्णुताको प्रतीकका रूपमा राष्ट्रिय महत्व बोकेको छ।

भोटो जात्रालाई हेर्न हजारौं श्रद्धालु र पर्यटक जावलाखेलमा उपस्थित हुने अनुमान गरिएको छ। सुरक्षाका लागि व्यापक बन्दोबस्त गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्