बाजुराको एक सामुदायिक वनमा विस्फोट : एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

धनगढी — बाजुराको बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रबार बिहान अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ।

सुजारी पाताल सामुदायिक वनमा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको करिब बिहान ७:३० बजे विस्फोटक पदार्थ पड्किएपछि गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि कोल्टी अस्पताल लगिएको भए पनि डाक्टरहरूले मृत घोषणा गरेका हुन्।

विस्फोटको कारण यतिबेला स्पष्ट नभएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सुरक्षाकर्मीहरूको टोली घटनास्थलमा पुगेर तथ्य संकलन गरिरहेको छ। स्थानीयवासीले यस घटनाले समुदायमा त्रास फैलिएको बताएका छन्। सुरक्षा निकायले सो क्षेत्रमा यस्ता सामग्री कसरी पुगे भन्ने विषयमा अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

यस घटनाले जंगलमा काम गर्ने स्थानीयहरूलाई थप सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्