काठमाडौं – पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँग बढ्दो तनाव र ‘ड्रोन आतंकवाद’बारे कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई औपचारिक रूपमा जानकारी गराएका छन्।
पाकिस्तानी गृहमन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ कि भारतले सर्वसाधारण नागरिकहरूलाई लक्षित गर्दै ड्रोनमार्फत आक्रमण गरिरहेको र यसले सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको पाकिस्तानको आरोप रहेको छ।
गृहमन्त्री नकवीले चेतावनी दिँदै भनेका छन्, “पूरै क्षेत्र युद्धको संघारमा छ। हामी कहिल्यै हाम्रो सुरक्षामा सम्झौता गर्न दिंदैनौं।”
पाकिस्तानले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै भारतको गतिविधिबाट क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ।
अमेरिकी पक्षबाट भने उक्त भेटवार्तामा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन।