मोबाइल प्रयोगले परीक्षा रद्द, केन्द्राध्यक्षसमेत निष्कासन

भक्तपुर, वैशाख २६ । कक्षा १२ को वार्षिक परीक्षामा मोबाइल फोन लगायत निषेधित विद्युतीय उपकरण प्रयोग गर्ने परीक्षार्थीहरूका परीक्षाहरू रद्द गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमी, भक्तपुरले बिहीबार एक सूचना जारी गर्दै २०८२ साल वैशाख २१ गतेदेखि सञ्चालन भइरहेको परीक्षामा केही केन्द्रहरूमा विद्यार्थीहरूले मोबाइल फोन प्रयोग गरेको पाइएकाले तिनीहरूको परीक्षा रद्द गरिएको जानकारी गराएको हो।

यसअघि नै परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी र अन्य इलेक्ट्रोनिक उपकरण लैजान पूर्णरूपमा निषेध गरिएको थियो। बोर्डले परीक्षा मर्यादा विपरीत यस्ता उपकरण लैजाने परीक्षार्थीहरूलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।

बोर्डद्वारा जारी सूचनामा भनिएको छ, “सूचनाको अवज्ञा गरेको पाइएमा सम्पूर्ण विषयको परीक्षा रद्द हुने व्यहोरा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी एवं सरोकारवालामा पुनः अनुरोध गरिन्छ।”

यसैबीच, वैशाख २५ गते सञ्चालित परीक्षा क्रममा काठमाडौंको सुकेधारा स्थित साइपल एकेडेमी परीक्षा केन्द्र (केन्द्र नं. १५३४) मा परीक्षाको मर्यादा विपरीत कार्य भएको पाइएपछि सो केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्कासन गरिएको छ। बोर्डले तत्काल नयाँ केन्द्राध्यक्ष तोकी परीक्षा संचालनको व्यवस्था मिलाएको जानकारी समेत दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा कायम राख्न सबै पक्षलाई सतर्क रहन र नियमको पालना गर्न पुनः आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्