काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रलाई तरंगित बनाएको छ। बिहीबार भारतले ‘अप्रेशन सिंदूर’ अन्तर्गत कारबाही जारी रहेको बताएको छ भने पाकिस्तानले भारतीय सैन्य अड्डाहरूमा आक्रमणको असफल प्रयास गरेको आरोप लगाएको छ।
भारतका रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा सम्पन्न सर्वदलीय बैठकपछि केन्द्रीय मन्त्री किरेन रिजिजूले उक्त कारबाहीबारे जानकारी गराएका थिए। त्यसपछि राती भारतले जम्मू, पठानकोट र उधमपुरस्थित सैन्य अड्डामा पाकिस्तानबाट आक्रमण प्रयास भएको र त्यसलाई निष्क्रिय बनाइएको दाबी गरेको छ। यता, पाकिस्तानले यस्ता आरोपको खण्डन गर्दै भारतका २५ ड्रोन खसालेको दाबी गरेको छ।
भारतको रक्षा मन्त्रालयका अनुसार “लाहौरमा अवस्थित पाकिस्तानको एक एयर डिफेन्स सिस्टमलाई नष्ट गरिएको छ।” यद्यपि यी सबै दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
छिमेकी राष्ट्रहरूको प्रतिक्रिया
यस सैन्य तनावका बीच दक्षिण एशियाका साना राष्ट्रहरू गहिरो चिन्तामा छन्। मिडल ईस्ट इनसाइट्स प्लेटफर्मकी संस्थापक डा. शुभदा चौधरीका अनुसार भारत–पाकिस्तानबीचको दीर्घकालीन द्वन्द्वले गरिब वर्गलाई सबैभन्दा ठूलो मार पर्न सक्छ। “कोरोना महामारीपछिको आर्थिक मन्दीबाट थलिएका देशहरूका लागि यस्तो तनाव झनै घातक हुनसक्छ,” उनले भनिन्।
नेपाल, भूटान, श्रीलंका, बांग्लादेशजस्ता साना अर्थतन्त्र भएका मुलुकहरू भारतसँग गहिरो व्यापारिक सम्बन्धमा छन्। नेपालको झण्डै ६० प्रतिशत व्यापार भारतसँग हुने भएकाले द्वन्द्वको अवस्था बनेमा व्यापारमार्ग अवरुद्ध हुनसक्ने खतरा देखिन्छ।
दक्षिण एशियाली विश्वविद्यालयका एसोसिएट प्रोफेसर धनञ्जय त्रिपाठीका अनुसार अफगानिस्तान बाहेक अरू सबै छिमेकी देशहरू यस्तो अवस्थामा तटस्थ बस्न चाहन्छन्। “भारतसँगको आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सबै छिमेकी देशहरूले चाहन्छन् कि तनाव वार्ताबाट टुंगो लागोस्,” उनले बताए।
विदेश मामिलाका जानकार क़मर आगाका अनुसार युद्धले सबै देशको अर्थतन्त्रमा नकारात्मक असर पार्छ। “युद्धका कारण रक्षा खर्च बढ्छ, तर रोजगारी सिर्जना हुँदैन। बांग्लादेशलाई बढी असर पर्नसक्छ, किनकि हालैको सरकार पाकिस्तानप्रति झुकेको देखिन्छ, जबकि भारतले ठूलो लगानी गरेको छ त्यहाँ,” उनले भने।
चीनको भूमिका
चीनले समेत भारत–पाकिस्तानबीचको तनावलाई लिएर चिन्ता व्यक्त गरेको छ। चीनको विदेश मन्त्रालयले पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई कारबाहीलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
चीनले पाकिस्तानमा सन् २००५ देखि २०२४ सम्म करिब ६८ अर्ब डलर लगानी गरिसकेको छ। सीपेक र बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत चीनको ठूलो लगानी पाकिस्तानमा छ, त्यसैले चीन चाहन्छ कि पाकिस्तान अस्थिर नहोस्। यद्यपि क़मर आगाका अनुसार “चीनलाई संघर्ष चलिरहुनु नै लाभदायक देखिन्छ, किनभने त्यसले पाकिस्तानलाई हतियार बेच्ने अवसर दिन्छ।”
भारत र पाकिस्तानबीचको तनावले दक्षिण एशिया शान्ति र स्थायित्वको नाजुक मोडमा पुगेको छ। साना छिमेकी देशहरू तनाव घटोस् भन्ने चाहनामा छन् भने चीनको भूमिका पेचिलो देखिएको छ। यस अवस्थामा, अन्तर्राष्ट्रिय समुदायले संयम र वार्ताका माध्यमबाट समाधान खोज्न दुवै देशलाई दबाब दिन आवश्यक देखिन्छ। विविसी हिन्दीको सहयोगमा