भारत–पाकिस्तानबीचको सैन्य तनाव चुलिँदा यि हुन् बन्द भएका २४ विमानस्थल, नागरिक सतर्कता उच्च

भारत र पाकिस्तानबीच ड्रोन र मिसाइल आक्रमणको श्रृंखला सुरु भएपछि दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएका छन्। सैन्य भिडन्तसँगै नागरिक सुरक्षामा गम्भीर चासो देखाउँदै भारतले बिहीबार २४ वटा विमानस्थल बन्द गरेको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार यीमध्ये धेरैजसो विमानस्थल अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूको केन्द्र हुन्।

केवल दिल्ली विमानस्थलबाट मात्र ९० वटा उडानहरू रद्द गरिएका छन्। पाकिस्तानले भारत नियन्त्रित जम्मु, पञ्जाब, गुजरात र राजस्थानमा हवाइ आक्रमण गरेको दाबीपछि भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय लिएको हो।

यता पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले भारतका २५ वटा ड्रोन खसालिएको दाबी गरेका छन्। उनका अनुसार लाहोर, रावलपिण्डी, कराँची लगायतका क्षेत्रबाट पाकिस्तानी सेनाले ड्रोन र मिसाइल प्रहार गरी ती ड्रोन नष्ट गरेका हुन्। पाकिस्तानको सञ्चार मन्त्री अतुल्लाह तरारले भारत नियन्त्रित कश्मीरमा गरिएको कारबाहीमा ४० देखि ५० जना भारतीय सैनिक मारिएको दाबी गरेका छन्।

तर भारतले भने एयर डिफेन्स प्रणालीमार्फत पाकिस्तानबाट आएको आक्रमण निष्क्रिय बनाएको दाबी गर्दै आएको छ। पश्चिमी र उत्तरी भारतका विभिन्न स्थानमा पाकिस्तानले प्रहार गरेका ‘टार्गेट’ हरू सफलतापूर्वक निस्तेज गरिएको भारतीय पक्षको भनाइ छ।

यसअघि बुधबार भारतले “अपरेसन सिन्दुर” नाम दिई पाकिस्तानका नौ स्थानमा सैन्य कारबाही गरेको थियो। पाकिस्तानले त्यसको जवाफ दिने चेतावनी दिँदै आएको थियो।

यस सैन्य तनावका कारण भारतका हवाई सेवा प्रदायक कम्पनीहरूले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ। स्थगित उडान, बन्द विमानस्थल र सुरक्षासम्बन्धी खर्चका कारण नागरिक उड्डयन क्षेत्र अत्यधिक प्रभावित भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

क्षेत्रीय सुरक्षामा उत्पन्न तनावले दक्षिण एशियाको स्थायित्वमा खतरा उत्पन्न गराएको छ। विश्लेषकहरूका अनुसार दुबै देशलाई संयमित कदम चालेर कूटनीतिक पहलमार्फत विवाद समाधान गर्नु अहिलेको आवश्यकता हो।

कहाँ कहाँ बन्द गरियो विमानस्थल? 

१. चण्डीगढ

२. श्रीनगर

३. अमृतसर

४. लुधियाना

५. भुन्टर

६. किशनगढ

७. पटियाला

८. शिमला

९. कांगडा-गग्गल

१०. बठिण्डा

११. जैसलमेर

१२. जोधपुर

१३. बीकानेर

१४. हलवारा

१५. पठानकोट

१६. जम्मू

१७. लेह

१८. मुन्द्रा

१९. जामनगर

२०. हिरासा (राजकोट)

२१. पोरबन्दर

२२. केशोद

२३. काण्डला

२४. भुज

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्