जम्मु – जम्मु विमानस्थलमा विस्फोट भएको पुष्टि भएको छ। गुज्जर नगर पुलस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार उनले विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसिरहेको देखेका थिए।
एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै एक सुरक्षा स्रोतले जम्मु विमानस्थलमा विस्फोट भएको पुष्टि गरेका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार जम्मु शहरका बजारहरू तत्काल बन्द गरिएका छन् र मानिसहरू भागाभाग गरिरहेका छन्। शहरभरि सायरन बज्न थालेको छ र पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको छ।
बीबीसी संवाददाता दिव्या आर्याका अनुसार जम्मुका विभिन्न स्थानहरूमा विस्फोटको आवाज सुन्न आएको छ। उता जम्मुकै नजिक पर्ने कठुआ जिल्लामा पनि दुई स्थानमा विस्फोटको आवाज आएको र त्यहाँ पनि विद्युत् सेवा बन्द गरिएको जानकारी प्राप्त भएको छ। जम्मुबाट झण्डै डेढ घण्टाको दूरीमा रहेको कठुआ र जम्मु दुवै ठाउँमा अहिले पूर्ण रूपमा ब्ल्याकआउट गरिएको छ।
सुरक्षाको दृष्टिकोणले भारतीय सेनाले जम्मुमा डिफेन्स सिस्टम सक्रिय पारेको स्रोतहरूले बताएका छन्। चण्डीगढ़ प्रशासनले पनि एयर रेड सायरन सक्रिय गरिएको र तत्काल प्रभावले ब्ल्याकआउट लागू गरिएको जानकारी दिएको छ। यसैबीच, धर्मशालामा जारी आईपीएल खेल – पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको प्रतिस्पर्धा – बीचमै रोकिएको छ। क्रिकइन्फो वेबसाइटका अनुसार उक्त खेल पूर्ण रूपमा रद्द गरिएको छ।
राजौरी जिल्लाको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत आम नागरिकलाई ब्ल्याकआउट सुनिश्चित गर्न अपिल गर्दै सबै बाहिरी बत्तीहरू निभाउन र झ्याल–ढोकाहरूबाट कुनै प्रकाश बाहिर नजान दिनेगरी बन्द गर्न अनुरोध गरेको छ।