नयाँ दिल्ली — पाकिस्तानले लगातार दोस्रो दिन भारतीय भूमिमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार जम्मु-कश्मीर, पञ्जाब र राजस्थान राज्यका विभिन्न ११ सहरहरूलाई लक्षित गरी ड्रोन प्रहार गरिएको छ।
जम्मु-कश्मीर राज्यका जम्मु, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया, पञ्जाब राज्यको पठानकोट, र राजस्थान राज्यका जैसलमेर तथा पोखरण सहरहरू पाकिस्तानी आक्रमणको निशानामा परेको जनाइएको छ।
भारतीय सुरक्षा स्रोतहरूले जानकारी दिएअनुसार पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई लक्ष्य बनाए पनि भारतीय वायु रक्षा प्रणालीले ती सबै आक्रमण प्रयासहरू विफल पारेको दाबी गरिएको छ। राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरिएको छ भने सीमावर्ती सबै जिल्लाहरूमा तत्काल प्रभावले पूर्ण ब्ल्याकआउट गरिएको छ।
उच्च सतर्कता र ब्ल्याकआउट
पञ्जाब, जम्मु-कश्मीर र राजस्थान राज्यहरूलाई उच्च सतर्कतामा राखिएको छ। पञ्जाबका जालन्धर र अमृतसर सहरमा पूर्ण अन्धकार रहेको छ भने बीकानेर र श्रीगंगानगरमा समेत विद्युत् सेवा बन्द गरिएको छ।
जम्मु, किस्तवाड, अखनूर, साम्बा र पठानकोट सहरहरूमा पूर्ण ब्ल्याकआउट गरिएको छ। आरएस पुरा सेक्टरमा पाकिस्तानतर्फबाट भारी गोलीबारी भइरहेको छ। स्थानीय बासिन्दाहरूका अनुसार विभिन्न स्थानहरूमा विस्फोटको ठूलो आवाज सुनिएको छ।
नियन्त्रण रेखा (LOC) नजिकै कुपवाडा र बारामुल्ला क्षेत्रमा दुवै तर्फबाट भारी गोलीबारी भइरहेको जनाइएको छ।
आईपीएल खेल रोकियो
पाकिस्तानी आक्रमणको प्रभाव धर्मशालामा जारी आईपीएल खेलमा पनि परेको छ। पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच एचपीसीए मैदानमा भइरहेको खेल बीचमै रोकिएको छ। मैदानका सबै फ्लडलाइटहरू निभाइएको थियो र दर्शकहरूलाई मैदान खाली गर्न निर्देशन दिइएको थियो।
खेल रोकिँदासम्म पञ्जाबले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर क्रिजमा अविजित थिए भने प्रियांश आर्य ७० रन बनाएर आउट भएका थिए।
सरकारद्वारा औपचारिक विवरण आउन बाँकी छ भने नागरिकहरूलाई सतर्क रहन र सुरक्षाका निर्देशन पालना गर्न आग्रह गरिएको छ।