नयाँ दिल्ली, पाकिस्तानले ड्रोनमार्फत भारतका विभिन्न स्थानमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दैनिक भास्करको समाचारअनुसार पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई लक्षित गरी आक्रमण गरेका छन्।
यसबीच, जम्मु क्षेत्रमा आइतवार राति ८ बजेदेखि ब्ल्याकआउट गरिएको छ। स्थानीयले बताएअनुसार सो क्षेत्रमा पाकिस्तानतर्फबाट भारी गोलाबारी भइरहेको छ र धेरै स्थानमा विस्फोटको आवाज सुनिएको छ।
पाकिस्तानी पक्षले भारतको राजस्थान राज्यको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ। साथै, भारतीय सञ्चारमाध्यमहरूले जम्मु नजिकै पाकिस्तानको एक एफ–१६ लडाकु विमान खसेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। घटनापछि राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा विद्युत् सेवा बन्द गरिएको (ब्ल्याकआउट गरिएको) छ भने पञ्जाब, जम्मु–कश्मीर र राजस्थान राज्यहरूमा उच्च सतर्कता अपनाइएको छ।
भारत सरकारले सुरक्षा संयन्त्रलाई सतर्क रहन निर्देशन दिएको जनाइएको छ।