काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् ।
एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई जानकारी दिँदै जम्मुस्थित विमानस्थलमा विस्फोट भएको पुष्टि गरेका छन्। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका अनुसार विस्फोटपछि बजारहरू बन्द भएका छन् र मानिसहरू भाग्दै गरेको देखिएको छ। सायरन बज्न थालेको छ र सँगसँगै सम्पूर्ण शहरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
बीबीसीका अनुसार, “हामीले जम्मु-कश्मीरको जम्मु सहरबाट ताजा रिपोर्टहरू प्राप्त गरेका छौं।” एक प्रत्यक्षदर्शीले बीबीसीलाई भनेका छन्, “अहिले त्यहाँ ब्ल्याकआउट (विद्युत् अवरोध) छ र सायरनको आवाज सुनिँदैछ।”
कम्मु कश्मिर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विष्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएको छ । भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन ।
पहलगाममा एक नेपाली र २६ भारतीय नागरिक मारिएको आतंकवादी हमलाको जवाफ भन्दै भारतले दुई दिनअघि पाकिस्तानको ९ स्थानमा हवाई कारबाही गरेको थियो । पाकिस्तानी प्रधानमन्त्रीले त्यसको जवाफ दिइने भन्दै त्यसको सम्पूर्ण अधिकार पाकिस्तानी सेनालाई दिएका थिए ।