कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले माटोको प्रकारअनुसार उपयुक्त बाली पहिचान गर्न सम्भाव्यता अध्ययन अघि बढाएको छ। कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन र बगरखेतीका लागि वडागत रुपमा माटो परीक्षण गरी बाली वर्गीकरण गरेको हो।
शाखा प्रमुख करन सिंह बुढाऐरका अनुसार, माटो परीक्षण र निरीक्षणको आधारमा वडा नं. १, २, ३, १२ मा उखु, २, ३, ७, ८, ९ मा तरकारी, ५, ६, ७, ८, ९ मा फलफूल तथा प्राङ्गारिक खेती उपयुक्त देखिएको छ। खाद्यान्नका लागि वडा नं. ३, ४, ५, ६, ९, १०, ११ र बगर खेतीका लागि वडा ३, ११, १२ उपयुक्त मानिएको छ।
योजना अन्तर्गत तीन वर्षभित्र अनुदानमा बीउ वितरण, च्याउ, आलु, फलफूल खेती, मौरीपालन, माछापालन, सिँचाइ, कोल्ड स्टोर स्थापना लगायतका कार्यक्रम सञ्चालन गरिनेछ। शुक्लाफाँटामा ५,२३७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५,१०० हेक्टरमा खेती भइरहेको छ। यहाँका ९० प्रतिशत किसान कृषि पेशामा निर्भर छन्।