साहित्यकार किशोर पहाडी र फूलमान वललाई जनमत राष्ट्रिय सम्मान

काठमाडौं – नेपाली भाषा, साहित्य र वाङ्मयको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै जनमत वाङ्मय प्रतिष्ठानले साहित्यकार किशोर पहाडी र फूलमान वललाई राष्ट्रिय सम्मान प्रदान गरेको छ।

शनिबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठानले पहाडीलाई ‘गणेश-खिलकुमारी दुवाल-जनमत सम्मान’ र वललाई ‘जनमत-ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान’ प्रदान गरेको हो। सम्मान स्वरूप दुवै स्रष्टालाई दोसल्ला, खादा, सम्मानपत्र र नगद पुरस्कार अर्पण गरिएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्यलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिष्ठानकी सचिव सिर्जना दुवालका अनुसार गत महिना सम्पन्न ४१औँ वार्षिकोत्सव समारोहमा विशेष कारणले सहभागी हुन नसकेका स्रष्टालाई यसपटक विशेष कार्यक्रममार्फत सम्मान गरिएको हो।

सो अवसरमा कविहरू दियेशरत्न शाक्य, चेतनाथ धमला, र रामसुन्दर देउजाले साहित्यिक रचनावाचन गरेका थिए, जसले कार्यक्रमलाई अझ सशक्त बनायो।

जनमत वाङ्मय प्रतिष्ठानले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। प्रतिष्ठानले पुस्तकालय निर्माण, स्रष्टा सम्मान, र ‘जनमत’ साहित्यिक मासिकको निरन्तर प्रकाशन जस्ता विविध गतिविधि सञ्चालन गर्दै आएको छ। अध्यक्ष मोहन दुवालका अनुसार, हालसम्म ‘जनमत’ मासिकको ३३०औँ अङ्क प्रकाशित भइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्