लिपुलेक विवादमा भारत मात्र हैन चीन पनि संलग्न छः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ । प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले ।’

भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा २०७२ सालमा समझदारी भएको थियो ।

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गतवर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिए पनि ठोस रुपमा पहल हुन नसकेको बताए ।
अध्यक्ष प्रचण्डले सीमा विवादको विषय अहिले नै अन्तर्रा्ष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए ।

कालापानीमा भारतीय सेना झण्डै ६०/६५ वर्ष पहिल्यैदेखि बसिराखे पनि यो समस्या समाधानका लागि किन विगतदेखि नै पहल हुन सकेन भन्ने विषयमा विश्लेषण हुनुपर्ने प्रचण्डले बताए । यस विषयमा पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्