CORONA

भारतले बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी थियोः परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यो निर्माण कार्यबारे सरकारलाई थाहा नहुने भन्ने प्रश्नै आउँदैन ।’ उनकाअनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘हामीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको, वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा ट्र्याक, ट्र्याक १.५ वा ट्र्याक २ जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताउँदै आयौं’ उनले भने, ‘केही अनौपचारिक कुराकानी नभएका पनि होइनन् । सामान्यतया फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल गअगाडि बढेका थिए ।’

तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।

‘हिजो भारतीय विदेश मन्त्रालयको प्रवक्ताको एउटा प्रतिक्रिया छ, त्यसमा उहाँहरुको दाबी उल्लेख गर्दैगर्दा कोरोनापछि वार्ताको टेबलमा बस्न तयार छौं भन्नु भएको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसबाट पनि कूटनीतिक माध्यमबाट समाधान गर्न सकिन्छ भन्नेमा सरकार दृढ छ ।’

नेपाली भूमिको रक्षाका लागि सिंगो देश एकतावद्ध रहेको भन्दै उनले यसमा कसैले पनि संवैदनशीलता ल्याउने र राजनीतिकरण प्रयास गर्न नहुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्