काठमाडौँ, फागुन १९ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। फागुन १६ र १७ गते काठमाडौँमा सम्पन्न उक्त महाधिवेशनमा देशभरका निजी विद्यालयका प्रतिनिधिहरू, शिक्षाविद्हरू, सरोकारवाला निकायका पदाधिकारीहरू तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको हो।
महाधिवेशनमा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय प्याब्सनले हार्दिक आभार व्यक्त गरेको छ। विशेष गरी गृहमन्त्रीलगायत विशिष्ट अतिथिहरू, विभिन्न प्रदेशका प्रतिनिधिहरू, शिक्षा क्षेत्रका विज्ञहरू तथा सरोकारवाला निकायहरूको उपस्थितिलाई नेशनल प्याब्सनले महत्त्वपूर्ण ठानेको छ।
नवनिर्वाचित केन्द्रीय समितिले आगामी तीन वर्षको कार्यकालमा शिक्षा क्षेत्रको सुधार, शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, संस्थालाई अझ मजबुत बनाउन समन्वयात्मक र संगठनात्मक कामलाई प्राथमिकता दिने बताइएको छ।
नवनिर्वाचित अध्यक्ष सुवास न्यौपाने र महासचिव प्रकाश चन्द्र खड्काले महाधिवेशनमा निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै, संस्थाको समृद्ध भविष्य निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताए। महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, आगामी कार्यकालमा शिक्षा सुधारका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।