कोरोना भाइरसका कारण विश्वभर ७८ नेपालीको मृत्यु, कुन देशमा कति ?

लण्डन – कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जि्नियामा १ जना नेपालीको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक–एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

कोरोना भाइरसका यो हप्ता थप ५ जना नेपालीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्या बेलायतमा २ तथा स्वीडेन, बहराइन र युएईमा एक(एकजना थपिएका छन् ।

यस्तै, डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सो समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्