काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कानूनी अधिकारीहरूले कानूनसम्मत रूपमा काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोगको बर्दिबास कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जनताको स्वास्थ्यसँग खेलबाड गर्ने स्वास्थ्य संस्थामाथि प्रदेश सरकारले कारबाही अघि बढाएको जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहले नेपालका विभिन्न ऐन तथा कानूनका कारण प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सिंहले अख्तियार अनुसन्धान सेवा पुरस्कारबाट सिनियर डिभिजन इन्जिनियर प्रकाश चौधरी र अख्तियार सेवा पुरस्कारबाट जगतराजलाई सम्मानपत्रसहित नगद प्रदान गर्नुभयो । —न्युज एजेन्सी नेपाल