राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल पुलिस क्लव द ब्लु पेभिलियनको समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरुमा निष्ठापूर्वक वहन गरेको बताउनु भयो । उहाँले आन्तरिक स्थितिलाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता भएको बताउनु भयो । नागरिक प्रशासनको आधारभुत मान्यता र न्यायका मान्य सिद्धान्तलाई जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामुलक बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हरेक विषम परिस्थितिहरुमा राज्यका हरेक जिम्मेवारी निष्ठापूर्वक वहन गरेको इतिहास छ । आगामी दिनमा नेपालको संविधान र प्रचलित कानूनको रोहमा नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन होइन, राज्यको उपस्थिति र नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक छ । आन्तरिक आदेशको श्रृंखलालाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको झन टड्कारो आवश्यकता हो । नागरिक प्रशासनको आधारभुत मान्यता र न्यायका मान्य सिद्धान्तलाई केबल जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामुलक प्रहरी सेवाको अपेक्षा राख्दछ । राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था हाम्रो आवश्यकता हो । यसले नागरिक हकको प्रत्याभुति निष्पक्ष र स्वच्छ कानून कार्यान्वयन, अपराध अनुसन्धान गर्दै लोकतन्त्रको आधारभुत चरित्रलाई समाजमा स्थापित गर्नेछ ।’

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समाज र राष्ट्रको अपरिहार्य संस्था भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्